मोरङ । मोरङमा अवैध लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई मोरङ प्रहरीले पक्राउ गरेका छन् ।
मोरङको प्रहरीले विशेष सूचनाका आधारमा निगरानी बढाउने क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
आज शुक्रबार मोरङको विराटनगर महानगरपालिका–३ बरगाछीस्थित सडक क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेका दुई जनाको झोला जाँच गर्दा ११.५२ केजी अवैध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।
पक्राउ पर्नेहरूमा भारतको अररिया जिल्ला घर भएका १८ वर्षीय पृथ्वीकुमार सिंह र २२ वर्षीय कृष्ण कुमार सिंह रहेका छन् ।
नेपाल–भारत सीमावर्ती क्षेत्र हुँदै लागूऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको मोरङका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेका दुवै जनालाई हाल जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। उनीहरूमाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गरिने तयारी भइरहेको मोरङको प्रहरीले जानकारी दिएको छ ।


