नेपालमा ऊर्जा संकटको कहिलेकाहीँ सडकको लामो लाइनले देखाउँछ। अहिले देशका विभिन्न सहरमा देखिने ग्यासका लाइनहरू केवल उपभोक्ताको असुविधा मात्र होइनन्, ती नेपालले ऊर्जा व्यवस्थापनमा गरेको नीतिगत कमजोरीको प्रतीक पनि हुन्। एकातिर ग्यासका सिलिन्डर खोज्दै उपभोक्ता दिनौं लाइन बस्न बाध्य छन्, अर्कोतिर वर्षातको समयमा उत्पादन भएको बिजुली खपत नभएर खेर जाने अवस्था छ। यही विरोधाभासले नेपाली ऊर्जा नीतिको सबैभन्दा ठूलो प्रश्न उठाएको छ—जब आफ्नै देशमा उत्पादन भएको बिजुली सस्तो र प्रशस्त छ भने नेपाली भान्सा अझै आयातित ग्यासमै किन निर्भर छ?
नेपालमा अधिकांश घरको चुलो अझै एलपीजी ग्यासमै निर्भर छ। सहरमा ग्यास, गाउँमा दाउरा वा गुइँठा प्रयोग हुने चलन अझै कायम छ। विद्युतबाट खाना पकाउने संस्कार भने निकै सीमित छ। तर वास्तविकता के हो भने भान्सामा बिजुली प्रयोग गर्दा लागत पनि कम हुन्छ, झन्झट पनि कम हुन्छ र राष्ट्रिय अर्थतन्त्रलाई पनि ठूलो राहत मिल्छ।
ऊर्जा लागतबारे गरिएको अध्ययनले एउटा महत्वपूर्ण तथ्य उजागर गरेको छ। पिपुल इनर्जी एन्ड इन्भारोमेन्टल एशोसिएसन (पीडा) ले गरेको अध्ययनअनुसार पाँच सदस्यीय परिवारले ग्यास प्रयोग गरेर खाना पकाउँदा एक छाकमा करिब २० रुपैयाँ खर्च हुन्छ। यही खाना इन्फ्रारेड विद्युतीय चुलोमा पकाउँदा १२ रुपैयाँ ६० पैसा लाग्छ भने इन्डक्सन चुलोमा ११ रुपैयाँ ७७ पैसा मात्रै खर्च हुन्छ। अझ इलेक्ट्रिक प्रेसर कुकर प्रयोग गर्दा लागत घटेर ६ रुपैयाँ २७ पैसासम्म पुग्छ। यसको अर्थ, ग्यास प्रयोग गर्ने परिवारले इन्डक्सनमा खाना पकाए प्रत्येक छाकमा कम्तिमा ८ रुपैयाँ २३ पैसा बचत गर्न सक्छ।
यो सामान्य देखिने रकम वार्षिक हिसाबले निकै ठूलो हुन्छ। दिनको तीन छाक पकाउने एउटा परिवारले वर्षभरिमा करिब ९ हजार रुपैयाँभन्दा बढी बचत गर्न सक्छ। यदि देशभरका लाखौं परिवारले यही अभ्यास अपनाए भने अरबौं रुपैयाँको आर्थिक बचत सम्भव हुन्छ।
तर समस्या केवल व्यक्तिगत खर्चको होइन, यो राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको विषय पनि हो। नेपालले प्रत्येक वर्ष खाना पकाउने एलपीजी ग्यास आयात गर्न करिब ६२ अर्ब ५८ करोड रुपैयाँ विदेश पठाइरहेको छ। यो रकम नेपाली अर्थतन्त्रका लागि ठूलो भार हो। त्यही समयमा नेपालले उत्पादन गरेको बिजुली देशभित्र खपत हुन नसक्दा भारत र बंगलादेशमा साढे १७ अर्ब रुपैयाँ बराबरको बिजुली बेच्नु परेको छ।
अर्थात् नेपालले एउटा विचित्र अवस्था भोगिरहेको छ—भान्साका लागि महँगो आयातित ग्यास प्रयोग गर्ने, तर आफ्नै देशमा उत्पादन भएको सस्तो ऊर्जा विदेशी बजारमा बेच्ने।
ऊर्जा व्यवस्थापनको दृष्टिले यो स्पष्ट नीति असन्तुलन हो।
नेपालमा विद्युत उत्पादन विगत एक दशकमा तीव्र रूपमा बढेको छ। जलविद्युत आयोजना सञ्चालनमा आएपछि वर्षायाममा उत्पादन अझै बढ्ने गर्छ। तर घरेलु खपत बढाउन नसक्दा विद्युत प्राधिकरणले अतिरिक्त ऊर्जा व्यवस्थापन गर्न कठिनाइ भोगिरहेको छ। यही कारणले ऊर्जा मन्त्रालयले केही वर्षअघि जारी गरेको “ऊर्जा क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र” मा प्रतिव्यक्ति विद्युत खपत बढाउने लक्ष्य राखिएको थियो।
श्वेतपत्रअनुसार पाँच वर्षभित्र प्रतिव्यक्ति ७०० युनिट र दस वर्षभित्र १५०० युनिट विद्युत खपत पुर्याउने लक्ष्य थियो। तर लक्ष्य निर्धारण गरिएको वर्षभन्दा दुई वर्ष पछि पनि नेपालको प्रतिव्यक्ति विद्युत खपत ४६५ युनिटमै सीमित छ। यसले देखाउँछ कि उत्पादन बढे पनि उपभोग बढाउने नीति प्रभावकारी बन्न सकेको छैन।
भान्सामा बिजुली प्रयोगको विस्तार यस समस्याको सबैभन्दा व्यावहारिक समाधान हुन सक्छ।
विद्युतीय चुलो प्रयोग गर्दा उपभोक्ताले धेरै फाइदा पाउँछन्। पहिलो, ग्यास खोज्दै लाइन बस्नुपर्दैन। दोस्रो, लागत कम हुन्छ। तेस्रो, धुँवा वा प्रदूषण कम हुन्छ। चौथो, देशभित्रै उत्पादन भएको ऊर्जा प्रयोग हुने भएकाले विदेशी मुद्रा बचत हुन्छ।
तर व्यवहारमा किन यो परिवर्तन हुन सकेको छैन?
उपकरण लागत, र विद्युत शुल्कसम्बन्धी भ्रम हुन्। धेरै मानिस अझै पनि बिजुलीमा खाना पकाउँदा धेरै बिल आउने डर राख्छन्। कतिपय घरधनीले डेरामा बस्ने व्यक्तिबाट मनपरी विद्युत शुल्क असुल्ने गरेको गुनासो पनि छ। यस्तो प्रवृत्तिले विद्युतीय उपकरण प्रयोग गर्ने उत्साह घटाउँछ।
सरकारले यदि वास्तवमै ऊर्जा आत्मनिर्भरता र आयात घटाउने नीति लागू गर्न चाहन्छ भने भान्सामा विद्युतीय ऊर्जा प्रयोगलाई राष्ट्रिय अभियानकै रूपमा अघि बढाउनुपर्छ।
यसका लागि केही स्पष्ट कदम आवश्यक छन्।
पहिलो, विद्युतीय चुलो, इन्डक्सन र इलेक्ट्रिक प्रेसर कुकरलाई सहुलियतमा उपलब्ध गराउने कार्यक्रम ल्याउनुपर्छ। दोस्रो, विद्युत महसुल संरचना यस्तो बनाउनुपर्छ जसले घरेलु प्रयोगलाई प्रोत्साहन देओस्। तेस्रो, डेरामा बस्ने नागरिकमाथि हुने विद्युत शुल्कको अनियमितता नियन्त्रण गर्न कडा व्यवस्था गर्नुपर्छ। चौथो, जनचेतनामूलक अभियानमार्फत विद्युतीय भान्साको फाइदा जनतासम्म पुर्याउनुपर्छ।
नेपाल ऊर्जा क्रान्तिको सम्भावनाले भरिएको देश हो। जलस्रोतको दृष्टिले समृद्ध मुलुक भएर पनि यदि हामीले आफ्नै ऊर्जा प्रयोग गर्न सकेनौं भने त्यो राष्ट्रिय असफलता हुनेछ।
ग्यासको लाइनमा उभिएको नागरिक र खेर गएको बिजुली—यी दुई दृश्यले एउटै सन्देश दिन्छन्। नीति, सोच र व्यवहार परिवर्तन नगरेसम्म ऊर्जा व्यवस्थापन सुधारिँदैन।
भान्साबाट सुरु हुने सानो परिवर्तनले देशको अर्थतन्त्रमा ठूलो प्रभाव पार्न सक्छ। जब नेपाली चुलोमा आयातित ग्यासको सट्टा आफ्नै देशको बिजुली बल्न थाल्छ, तब मात्रै ऊर्जा आत्मनिर्भर नेपालतर्फको यात्रा वास्तवमै सुरु हुनेछ,।नव जनप्रहारबाट ।


