Friday, May 29, 2026

बैतडीमा सशस्त्र प्रहरीद्वारा २१ लाख भन्दा बडीको तस्करीका समान बरामद:-

ताजा / भरखरै प्राप्त

बैतडीमा २१ लाखभन्दा बढीको भन्सार छलीका तस्करीका सामानसहित दुईवटा गाडी पनि सशस्त्र प्रहरीले बरामद गरेको छ,र गाडी चालक र तस्कर फरार भएका छन् ।

सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा भारत–नेपाल सीमा हुँदै भइरहेको भन्सार छलीको जालो पुनः उजागर भएको जनाइएको छ । सशस्त्र प्रहरी बलको सक्रियतामा पञ्चेश्वर गाउँपालिका–४ हल्दुविनायकबाट रु २१ लाख ८ हजार ८१० बराबरका अवैध सामानसहित दुई सवारी साधन पनि नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
गोप्य सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको मोबाइल टोलीले भारतबाट अवैध रूपमा भित्र्याइएका सामानसहित सुपप्र ०१ ००१ च २७८९ नम्बरको बोलेरो पिकअप र सुपप्र ०१ ००२ त ५०९० नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) जङ्गबहादुर कुँवरले जानकारी दिएका छन् ।
उनका अनुसार बरामद गरिएका सामानमा २३ क्विन्टल चिनी, पाँच क्विन्टल मिश्री तथा अन्य विभिन्न किराना सामग्री रहेको बताएका छन् । ती सबै सामग्री भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा पक्राउ परेको डीएसपी बताउँछन् ।
सशस्त्र प्रहरी निरीक्षक रमेशप्रसाद पाण्डेयको नेतृत्वमा खटिएको टोलीले केही दिनदेखि सीमा क्षेत्रमा भइरहेको संदिग्ध गतिविधिलाई निगरानीमा राख्दै आएको बताइएको छ, र “केही दिन अघिदेखि नै भन्सार छलीका सामान भित्रिँदैछन् भन्ने, सूचना आएको थियो,” सशस्त्र प्रहरी नायब उपरीक्षक डीएसपी कुँवरले भने, “त्यही सूचनालाई आधार मानेर निगरानी बढाउँदा ठूलो परिमाणमा सामान फेला पार्न सफल भएका छाैं । उनका अनुसार तस्करीमा संलग्न व्यक्तिहरू प्रहरी टोली देख्नेबित्तिकै अँध्यारोको फाइदा उठाउँदै फरार भएको जनाएको छन् ” र अहिले उनीहरूको खोजीकार्य तीव्र पारिएको बताएको छन् ।
बैतडीसहित सुदूरपश्चिमका सीमावर्ती जिल्लामा पछिल्लो समय भन्सार छलीको गतिविधि बढ्दो रूपमा देखिएको छ। विशेषगरी दैनिक उपभोग्य सामग्री—चिनी, तेल, लत्ताकपडा लगायतका वस्तुहरू भारतबाट अवैध रूपमा भित्र्याउने क्रम बढिरहेको स्थानीय स्रोतहरू बताउँछन्।
स्थानीय बासिन्दाका अनुसार रातको समयमा साना सवारी साधन, ट्र्याक्टर तथा खच्चड प्रयोग गरेर सामान ओसार्ने काम नियमितजस्तै भएको छ। कतिपय अवस्थामा तस्करहरूले जंगलको बाटो र दुर्गम भूगोलको फाइदा उठाउने गरेका छन्, जसले गर्दा नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ।
भन्सार छलीमार्फत सामान भित्रिँदा राज्यको राजस्वमा प्रत्यक्ष असर पर्ने गर्दछ। कानुनी रूपमा भन्सार तिरेर ल्याउनुपर्ने सामान अवैध रूपमा ल्याउँदा सरकारलाई लाखौं रुपैयाँ घाटा हुने गर्दछ। यसले वैध व्यवसाय गर्ने व्यापारीहरूलाई समेत मारमा पार्ने गरेको छ।
अर्थविद्हरूका अनुसार यस्तो अवैध व्यापारले बजारको मूल्य प्रणाली नै असन्तुलित बनाउने खतरा हुन्छ। सस्तो मूल्यमा अवैध सामान बजारमा प्रवेश गर्दा इमान्दार व्यापारी प्रतिस्पर्धामा टिक्न कठिन हुने अवस्था सिर्जना हुन्छ।
सशस्त्र प्रहरी बलले सीमामा निगरानी कडा बनाएको दाबी गरे पनि भौगोलिक जटिलता, सीमित स्रोतसाधन र स्थानीयस्तरको सहकार्य अभावका कारण पूर्ण नियन्त्रण सम्भव हुन नसकेको अधिकारीहरू बताउँछन् ।
हामीले नियमित गस्ती, चेकजाँच र सूचना संकलनलाई तीव्र बनाएका छौं,” कुँवरले भने, “तर सीमा खुला हुनु, बाटोहरू धेरै हुनु र तस्करहरूको नयाँ–नयाँ तरिका अपनाउने प्रवृत्तिले चुनौती थपिएको छ।”उनले स्थानीय बासिन्दालाई समेत सचेत रहन र यस्ता गतिविधिबारे जानकारी दिन आग्रह गरेका छन्।
बरामद गरिएका अवैध सामानसहित बोलेरो पिकअप र ट्याक्टरलाई आवश्यक कारबाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटमा बुझाइएको सशस्त्रका डीएसपीले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles