पर्साका वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रको प्रमुख सडक विस्तार कार्यलाई तीव्र बनाउँदै नेपाल आयल निगम क्षेत्रीय कार्यालयदेखि मुर्ली चौकसम्मको सडक खण्डमा केन्द्र रेखाबाट दायाँ–बायाँ ५/५ मिटरका दरले सडक चौडा बनाउने निर्णय कार्यान्वयनमा ल्याएको छ।

यसै सन्दर्भमा महानगरपालिकाले सम्बन्धित घरधनी, व्यवसायी तथा सरोकारवालालाई लक्षित गर्दै २४ घण्टे अल्टिमेटम जारी गरेको छ। जारी सूचनाअनुसार सोमबार दिउँसो ३:०० बजेसम्म आफ्नो संरचना, पसल, टहरा तथा अन्य अवरोधहरू स्वेच्छाले हटाउन आग्रह गरिएको छ।
महानगरपालिकाले तोकिएको समयसीमाभित्र संरचना नहटाइएमा प्रचलित कानुनअनुसार डोजर प्रयोग गरी हटाइने स्पष्ट चेतावनी दिएको छ। यस कार्यबाट सडक विस्तार भई यातायात सञ्चालन सहज बनाउने, सवारी जाम न्यूनीकरण गर्ने तथा शहरी व्यवस्थापनमा सुधार ल्याउने उद्देश्य रहेको जनाइएको छ।
तर, अचानक जारी गरिएको अल्टिमेटमप्रति स्थानीय व्यवसायी तथा बासिन्दाले असन्तुष्टि जनाएका छन्। उनीहरूले लामो समयदेखि सञ्चालनमा रहेका पसल तथा संरचना हटाउन पर्याप्त समय नदिइएको गुनासो गर्दै वैकल्पिक व्यवस्थापन तथा क्षतिपूर्तिको माग गरेका छन्।
सडक विस्तार कार्यले दीर्घकालीन रूपमा नगरको पूर्वाधार विकासमा टेवा पुर्याउने अपेक्षा गरिए पनि छोटो समयसीमाका कारण प्रभावित पक्षमा अन्योल र चिन्ता बढेको देखिएको छ। महानगरपालिकाले यस विषयमा सहकार्य र समन्वयमार्फत समस्या समाधानतर्फ अग्रसर हुनुपर्ने आवश्यकता औँल्याइएको छ।


