प्रहरीकै संरक्षणमा पर्साका वैकल्पिक नाकाबाट तस्करी बढ्दो, सर्वसाधारण भने कडाइको मारमा सरकारले राजस्व चुहावट नियन्त्रण र सुशासन कायम गर्ने उद्देश्यसहित भारतीय बजारबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था लागू गरेपछि सीमावर्ती क्षेत्रका सर्वसाधारण प्रत्यक्ष प्रभावित बनेका छन्। तर, पर्साका विभिन्न वैकल्पिक नाकाबाट भने प्रहरीकै संरक्षणमा व्यावसायिक तस्करी मौलाइरहेको आरोप सार्वजनिक भएको छ।
स्थानीय स्रोतका अनुसार पर्साको सिरिसिया , ड्राइपोर्ट तथा अमरपट्टि नाकालाई प्रयोग गर्दै तस्कर समूहले रातिको समयमा मोटरसाइकल र साइकलमार्फत कपडा, जुत्ताचप्पल, हार्डवेयर सामग्री, काजु, किराना सामानदेखि कम्प्युटरका पार्टपुर्जासम्म ठूलो परिमाणमा नेपाल भित्र्याइरहेका छन्।
स्थानीयवासीले वडा प्रहरी कार्यालय श्रीपुर अन्तर्गत परिचालित ‘क्युआर टोली’ माथि नै तस्करसँग मिलेमतो गरी रकम असुल्ने गरेको गम्भीर आरोप लगाएका छन्। विशेषगरी प्रहरी जवान दिपेश क्षेत्रीले आफूलाई प्रभावशाली राजनीतिक पहुँच भएको व्यक्ति भन्दै तस्करीको लाइन व्यवस्थापन गर्ने गरेको चर्चा सीमावर्ती क्षेत्रमा व्यापक रहेको बताइएको छ।
एकातिर सीमामा सामान्य उपभोगका लागि सामान ल्याउने सर्वसाधारण कडा निगरानी, सोधपुछ र भन्सार प्रक्रियाबाट हैरान भइरहेका छन् भने अर्कोतिर संगठित तस्कर समूह भने निर्बाध रूपमा सक्रिय रहनुले सुरक्षा संयन्त्रकै भूमिकामाथि प्रश्न उठाएको स्थानीयको भनाइ छ।
सरकारले भ्रष्टाचार र तस्करीविरुद्ध “शून्य सहनशीलता” नीति लिएको दाबी गरिरहे पनि वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापा मगरको मौनता र मातहतका सुरक्षाकर्मीमाथि उठिरहेका आरोपले स्थानीय प्रशासनको प्रभावकारितामाथि नै प्रश्नचिन्ह खडा गरेको छ।
यस विषयमा सम्बन्धित निकायबाट निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न स्थानीयले माग गरेका छन्।


