Saturday, May 30, 2026

मकवानपुर प्रहरीद्वारा १७१ किलो अवैध गाँजासहित २० वर्षीय गाडी चालक पक्राउ:-

ताजा / भरखरै प्राप्त

मकवानपुर प्रहरीले मकवानपुर जिल्लाको मनहरीबाट लागू औषध १७१ केजी गाँजासहित गाडी चालकलाई पक्राउ गरेको छ । मकवानपुर इलाका प्रहरी कार्यालय मनहरी बाट खटिएको प्रहरीका टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा १७१ किलो २१ ग्राम प्रतिबन्धित लागू औषध गाँजा बरामद गर्न गरेको मकवानपुरको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ क्षेत्रमा नियमित गस्ती तथा सवारी चेकजाँचको क्रममा शंका लागेर रोकेको बा.१३ च. २०१४ नम्बरको गाडी (पिकअप भ्यान) बाट उक्त गाँजा फेला परेको प्रहरीले बताउँछन् । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको राक्सीराङ गाउँपालिका वडा नम्बर ४ निवासी २० वर्षीय अक्कल प्रसाद स्याङतानलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार गाँजा ओसारपसारमा प्रयोग गरिएको उक्त सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको छ। लागू औषध कारोबारमा सवारी साधनको प्रयोग भएको पुष्टि भएपछि गाडीलाई समेत प्रमाणका रूपमा जफत गरिएको हो। घटनास्थलमै बरामद गरिएको गाँजालाई सुरक्षित राखी आवश्यक प्रक्रिया पूरा गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका स्याङतानलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागू औषध सम्बन्धी कसुरमा म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको मकवानपुर प्रहरीले जानकारी दिएको छ। स्थानीय बासिन्दाका अनुसार पछिल्लो समय अपरिचित सवारी साधनहरू राति तथा बिहान सबेरै गाउँका बाटो हुँदै आवतजावत गर्ने क्रम बढेको छ। यसले गाँजा तस्करीको सञ्जाल सक्रिय रहेको संकेत गर्ने उनीहरूको भनाइ रहेको छ। स्थानीय तह र प्रहरीबीच समन्वय गरेर यस्ता अवैध गतिविधि रोक्नुपर्ने आवश्यकता औंल्याइएको छ। लागू औषध नियन्त्रण ऐन अनुसार ठूलो परिमाणमा गाँजा बरामद भएको अवस्थामा संलग्न व्यक्तिहरुलाई कडा सजाय हुने व्यवस्था रहेको जनाइएको छ । यस घटनाले पुनः एकपटक लागू औषध ओसारपसारको जालो ग्रामीण क्षेत्रसम्म फैलिएको देखाएको छ। विशेषगरी आर्थिक अभाव, बेरोजगारी र सजिलो आम्दानीको लोभमा युवाहरू यस्तो अवैध गतिविधिमा संलग्न हुने क्रम बढ्दो रहेको विश्लेषण गरिएको छ । २० वर्षकै युवक यस्तो घटनामा पक्राउ पर्नुले समाजमा बढ्दो जोखिमलाई संकेत गरेको जानकारहरू बताउँछन् । पक्राउ परेका स्याङतानमाथि थप अनुसन्धान जारी रहेको र यस घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्ने प्रयास भइरहेको र बरामद गरिएको गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा समेत अनुसन्धान भई रहेको मकवानपुर प्रहरीले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles